चिकित्सकको आन्दोलन अनावश्यक: सरकार

  • 23 सेप्टेम्बर 2017
प्रदर्शन

चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु भएमा उपचारमा संलग्न चिकित्सकले नै क्षतिपूर्ति तिर्नुपर्ने गरि सरकारले कुनै निर्णय नगरेको पटकपटक स्पष्ट पार्दापनि चिकित्सकहरुले आन्दोलनलाई निरन्तरता दिएको प्रति सरकारी अधिकारीले असन्तुष्टी व्यक्त गरेका छन्।

चिकित्सकहरुले विभिन्न मागहरु राखि शुक्रवार देखि आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प पारेकाले लाखौं बिरामी प्रभावित भएको बताइएको छ।

अस्पतालहरुमा उपचारको क्रममा बिरामीको मृत्यु हुँदा सम्बन्धित चिकित्सकलाई कारबाही गर्नेगरि कुनै कानुन निर्माण गर्न नलागिएको प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयले चिकित्सकहरुको ध्यानाकर्षण गराइसकेका छन्।

'चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने निर्णय भएको छैन'

'डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने' प्रस्तावको विरोध

असन्तुष्टी

मन्त्रिपरिषद्को पछिल्लो बैठकले चिकित्सकको चरम लापर्बाहीका कारणले बिरामीको मृत्यु वा अङ्गभङ्ग भएमा घट्नाको स्वतन्त्र अनुसन्धान, पेशागत वा व्यावसायिक बिमा र क्षतिपूर्ति लगायतका विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले बताए।

आन्दोलनप्रति असन्तुष्टि व्यक्त गर्दै मुख्यसचिव क्षेत्रीले भने, ''खोई उहाँहरुको आन्दोलनको कारण मैले चाहिं बुझेको छैन। भएका कानुन कामलाग्दा छैनन् भने संशोधन गर्नुपर्‍यो। यदी कानुन छन् तर कार्यान्वयन भएका छैनन् भने लागू गर्न गराउनुपर्‍यो भन्ने सरकारको निर्णय हो। यसमा अस्पताल बन्द गर्नुपर्ने विषय म त देख्दै देख्दिन।''

संशोधन

तर चिकित्सकहरुको आन्दोलनको नेतृत्व गरिरहेको नेपाल चिकित्सक संघले भने क्षतिपूर्तिबारेमा सरकारले केही स्पष्ट पारेको भएपनि स्वास्थ्यकर्मीमाथि हातपात तथा स्वास्थ्य संस्थामाथि तोडफोड गर्ने व्यक्ति वा समूहलाई विना धरौटी जेल चलान गर्ने गरि ऐन संशोधन गर्नुपर्ने आफ्नो माग बाँकी रहेको बताएको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने, ''स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आपराधिक गतिविधि गर्नेलाई धरौटीविना हिरासतमा लिनुपर्ने प्रावधान थप गर्नका लागि हामीले आन्दोलन जारी राखेका हौं।''

सरकारी अधिकारीहरुले भने चाडपर्वको मुखमा आन्दोलन नगर्न समेत चिकित्सकहरुलाई आग्रह गरेका छन्।